बैतडी, बैतडीको पञ्चेश्वर गाउँपालिकाले गाउँपालिकाका अरु स्थानियलाई प्रोत्साहन गर्न स्थानियले छाडेको बाँझो जमिनको सदुपयोग गरेको छ । जस अनरुप गाउँपालिकाले स्थानीय किशानहरुले बाँझो छाडेको दुई सय रोपनी जमीन भाडामा लिई नमुना कृषक पाठशाला संचालन गरेको हो ।
पञ्चेश्वर गाउँपालिका कृषकहरु कृर्षि प्राविधिकहरुको साथमा गर्मा कृषक पाठशालामा आधुनिक कृर्षि प्रणलीको बारेमा सिकिरहेका छन् । त्यतिमात्रै होईन आफुहरुले नै बाँझो छाडेको यो खेतबाट उनिहरुले वार्षिक जमीन भाडाका साथै खेतमा उब्जेको तरकारी गोडमेल गरेवाफत दैनिक ज्याला पनि पाईरहेका छन् । जंगली जनावरको आतंकका कारण खेति भित्र्याउने आश मारेर बाँझो छाडेको जमीन हराभरा हुनुका साथै आफुहरु पनि कृषि गर्ने तरिका सिकरिहेको स्थानिय कृषक बताउछन् ।
स्थानीय तहको निर्वाचनमा पञ्चेश्वर गाउँपालिकाका जनप्रतिनिधिहरुले व्यवसायिक कृषिको नारा अघि सारेका थिए । सोहि अनुरुप उनिहरुले बाँझो जमीनलाई व्यवस्थित गरी नमुना कृषक पाठशाला खोलेर व्यवसायिक कृषिको सुरुवात गरेका छन् । परम्परागत रुपमा खेती गरिरहेका कृषकहरुलाई आधुनिक एवं व्यवसायिक कृषितर्फ आकर्षित गर्न बाँझो जमीन सम्म्याएर नमुना कृषक पाठशाला खोलिएको हो । यसबाट स्थानीय किशानहरुका साथै गाउँपालिकालाई महत्वपुर्ण फाईदा हुने जनप्रतिनिधिहरुको भनाई छ ।
अहिले पञ्चेश्वर गाउँपालिका ६ गर्मामा गाउँपालिकाले स्थानीय प्राविधिकहरुको प्रत्यक्ष संलग्नतामा बन्दा, गोलभेडा, प्याज, लसुन, काँक्रा, करेला लगायतका तरकारीहरु उत्पादन गरिरहेको छ । विभिन्न प्रजातीका अनार, आम र केराको खेतीको लागी जमीन तयार गरिरहेका छन् । कृषकहरुले केवल कृषि गर्ने सीपमात्रै सिकीरहेका छैनन् रोजगारी पनि पाएका छन् । प्रत्येक दिन १२⁄१३ जनाले रोजगारी पनि पाएका छन् ।








