काठमाण्डौ, कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले एक वर्ष भित्र किसानलाई मलको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
मन्त्री खनालले कृषि क्षेत्रमा उल्लेख्य प्रगति हासिल गर्न आफूले छुट्टै किसान विश्वविद्यालय र किसान आवासीय प्रशिक्षण केन्द्र स्थापना गर्न लागेको पनि जानकारी दिनु भयो । राष्ट्रिय किसान आयोगको दोस्रो स्थापना दिवसको पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले किसानलाई प्रविधिसँग जोडेर सरकारले कृषि क्षेत्रमा सुधार ल्याउन चाहेको पनि स्पष्ट पार्नु भयो । मन्त्री खनालले आफूले दुधको गुणस्तर सुधारमा उल्लेख्य प्रगति गरेको दावी पनि गर्नु भयो ।
कार्यक्रममा बोल्दै पूर्व कृषिमन्त्री हरिबोल गजुरेलले कृषकको जीवनमा सुधार ल्याउने गरी कृषिसम्बन्धि नीति तय गर्न सरकार र राष्ट्रिय किसान आयोगसँग माग गर्नु भयो । उहाँले कृषि गतिविधिमा प्रत्यक्ष असर पार्ने खालका नीति, नियम बनाउन पनि आयोगलाई सुझाव दिनु भयो ।
पूर्व कृषिमन्त्री गजुरेलले किसान आयोगले किसानहरुको दैनिक गतिविधिसँग सम्बन्धित भएर सरकारलाई आवश्यक परामर्श दिनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।








