भक्तपुर । भक्तपुरमा धानको उत्पादन गत बर्षहरुमा भन्दा यसबर्ष राम्रो भएको छ । गत वर्षको तुलनामा यस वर्ष ४० प्रतिशत धान उत्पादन बढ्ने अनुमान गरिएको छ । अहिले भक्तपुरका चारवटै नगरक्षेत्रका किसान उत्पादन भएको धान सुकाउन र भित्र्याउने चटारो परेको देखिन्छ ।
भक्तपुरमा धानको उत्पादन गत बर्षहरुमा भन्दा यसबर्ष राम्रो भएको छ । गत वर्षको तुलनामा यो वर्ष धानको उत्पादन राम्रो भएको भक्तपुरका किसानहरुले बताएका हुन् । अहिले भक्तपुरका चारवटै नगरक्षेत्रका किसान उत्पादन भएको धान सुकाउन र भित्र्याउने चटारो परेको देखिन्छ ।
यहि चटारोका बिच स्थान अभावका कारण सडकमै धान सुकाउने गरेको स्थानीय किसानको भनाई छ । सडकलाई नै धान सुकाउने थलोका रुपमा प्रयोग गर्दा दुर्घटनाको जोखिम समेत बढेको छ । मुल र सहायक सडकमा भक्तपुरका किसानले बाटो नै अवरुद्व हुने गरि धान सुकाउन थालेपछि सवारी आवागमनमा समेत समस्या उत्पन्न भएको हो । जिल्ला कृषि विकास कार्यालय भक्तपुरले भने जिल्लाको समग्र तथ्यांक नआए पनि धेरैजसो सेवा केन्द्रबाट धान उत्पादन बढेको तथ्यांक आइरहेको बताएको छ । कार्यालयका अनुसार भक्तपुरमा ४ हजार ३ सय ४८ हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ ।
यस वर्ष किसानले विभिन्न हाइब्रिड चिनियाँ जातका बीउ, झरुवा ताइचिन, खुमल ४, खुमल ११ लगायतका धानका बीउ लगाएको थियो । गत वर्ष भक्तपुरमा मात्र २६ हजार ९ सय ५८ मेट्रिक टन धान उत्पादन भएको थियो । कार्यालयले गत वर्षको तुलनामा यस वर्ष ४० प्रतिशत धान उत्पादन बढ्ने अनुमान गरेको छ ।
अहिले भक्तपुर नगरक्षेत्र, चाँगुनारायण नगरपालिकाको चित्तपोल, ताथली, सुडाल, बागेश्वरी, छालिङ, चाँगु, दुवाकोट, सूर्य्विनायक नगरपालिकाको गुण्डु, सिपाडोल, नङ्खेल, बालकोट, सिरुटार, दधिकोट र थिमी नगरपालिका क्षेत्रमा धान काट्न चटारो परेको छ । यस वर्ष असार र साउन महीनाभित्र जिल्लाको सबै क्षेत्रमा धान रोपाइँ सकिएकाले धान पनि चाँडै पाकेको र उत्पादन पनि राम्रो भएको हो ।








