काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि प्राविधिक कर्मचारीहरूको समस्याको समाधान चाँडै हुने आश्वासन दिएका छन् ।
मन्त्री अधिकारीले आज पत्रकारसँगको भेटमा कृषि प्राविधिक कर्मचारीहरूको समस्याको समाधान आगामी क्याबिनेट बैठकबाट हुने बताएका छन् ।
मन्त्री अधिकारीले ३५ दिनअघि नियुक्ति भएपछिको यो पहिलो पत्रकार सम्मेलनमा कृषि प्राविधिक कर्मचारीहरूको समस्यालाई प्राथमिकतामा राख्दै यसलाई चाँडै समाधान गर्न प्रयास गर्ने बताए ।
मन्त्रालयमा लामो समयदेखि धर्नामा बसेका ३७८ जना कृषि प्राविधिक कर्मचारीमध्ये १२९ जनाको पद दर्ता प्रक्रिया अघि बढाइएकोले उनीहरूको आन्दोलन स्थगित भएको छ ।
२०७५ सालमा संघीयता कार्यान्वयनसँगै कर्मचारी समायोजनको क्रममा ३७८ जनाको पद दर्ता हुन नसकेकाले उनीहरू ४३ दिनदेखि मन्त्रालयको प्रवेशद्वारमा धर्नामा थिए। उक्त समस्याका कारण ६ वर्षदेखि पदपूर्ति प्रक्रिया रोकिएको थियो ।